काठमाडौं । तिहार पर्वका अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने भएको छ । यही कात्तिक २४ र २५ गते उपत्यकाबाट फोहर सङ्कलन तथा व्यवस्थापनको काम रोकिने छ ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार तिहारका बेला उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले उक्त अवधिमा फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ । कात्तिक २६ गतेदेखि भने नियमित रूपमा फोहर व्यवस्थापनको काम सुरु हुने महानगरले जनाएको छ ।
बन्चरेडाँडा बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थित रूपमा राख्न प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छन् । पर्वका दिनमा फोहर थुप्रिँदा उपत्यकाको सरसफाइमा समस्या नआओस् भन्ने उद्देश्यले महानगरले यो आग्रह गरेको हो ।
हरेक वर्ष चाडपर्वका बेला बन्चरेडाँडा बन्द हुँदा उपत्यकामा फोहर थुप्रिने समस्या देखिने गरेको छ । यस पटक पनि दुई दिन फोहर नउठ्ने भएकाले नगरवासीले घरमै फोहर व्यवस्थापन गरी राख्नुपर्ने भएको छ ।
