काठमाडौं । वर्षका ठुला चाडपर्व आउँदा राजधानीमा फोहोरको थुप्रो बढ्छ, तर ठिक त्यही समयमा फोहोर उठाउने काम भने रोकिन्छ। दसैँमा तीन दिन र तिहारमा दुई दिन सहरको फोहोर नउठ्दा बासिन्दाले दुर्गन्ध र अस्वच्छताको गुनासो गरेका छन्।
महानगरले तिहारका लागि कात्तिक २४ र २५ गते बञ्चरेडाँडा ल्यान्डफिल साइट पूरै बन्द हुने सूचना जारी गरेको छ। दसैँमा पनि कात्तिक १, ३ र ४ गते फोहोर फाल्न रोकिएको थियो। दुवै सूचनामा कारणका रूपमा ल्यान्डफिलमा खटिने कर्मचारीको बिदा उल्लेख छ।
तर महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार कथा त्यतिमै सकिँदैन। बञ्चरेडाँडा वरपरका बासिन्दाले दसैँदेखि तिहारसम्मको पूरै चाडपर्व अवधिमा फोहोर ल्याउन नदिने अडान लिएका छन्। स्थानीयको अवरोधलाई सूचनामा सिधै लेख्न नसकिने भएकाले महानगरले कर्मचारीको बिदालाई कारण देखाउने गरेको राईले बताइन्।
लक्ष्मी पूजाको भोलिपल्ट सहरबाट निस्कने फोहोरको मात्रा अत्यधिक हुने भएकाले त्यसको व्यवस्थापन तत्कालै गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। महिना दिनसम्म फोहोर फाल्न रोक्न सम्भव नहुने उनले स्पष्ट पारिन्। स्थानीयले अवरोध नगरे चाडपर्वमा पनि फोहोर नियमित रूपमा उठाउने तयारी महानगरसँग रहेको राईले बताइन्।
चाडपर्वका बेला घरअगाडि फोहोरका गाडी गुड्दा रमाइलो गर्न नसकिने भन्दै बञ्चरेडाँडाबासीले फोहोर नल्याउन आग्रह गर्दै आएका छन्। महानगरले उनीहरूसँग विवाद गर्नुभन्दा केही दिन फोहोर विसर्जन रोक्नु नै व्यावहारिक विकल्प ठानेको छ।
फोहोर नउठ्ने दिनहरूमा घर, कार्यालय र व्यवसायबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर आफ्नै घर तथा परिसरभित्र सुरक्षित राख्न महानगरले आग्रह गरेको छ।
