काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो जवाफ दिन र गुनासो व्यवस्थापनलाई व्यवस्थित बनाउन कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवालाई ग्राहक सेवामा डिजिटल सहजता थप्ने कदमका रूपमा प्रस्तुत गरेको छ ।
ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको आस्क मित्र आइकनबाट, इमेल ksmitra@kamanasewabank.com मार्फत वा ह्वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत आफ्ना प्रश्न पठाउन सक्नेछन् । खातासम्बन्धी जिज्ञासा, बैंकिङ अनुरोध र गुनासो यही माध्यमबाट राख्न सकिने बैंकले जनाएको छ । शाखा नपुगीकनै धेरैजसो जानकारी घरमै बसेर पाउन सकिने व्यवस्था गरिएको छ ।
यस प्रणालीबाट शाखा र सम्पर्क नम्बर, उपलब्ध सेवा तथा सुविधा, ब्याजदर र सेवा शुल्कबारे सामान्य जानकारी लिन सकिन्छ । ग्राहकको पहिचान पुष्टि भएपछि खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट र केवाईसीसम्बन्धी विवरण पनि उपलब्ध हुने बैंकको भनाइ छ ।
यसबाहेक खाता रोक्का गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन फेर्ने, मोबाइल बैंकिङ रोक्का गर्ने र त्यसको अवस्था बुझ्ने काम पनि यही प्रणालीबाट गर्न सकिनेछ । खोजिएको जानकारी प्रणालीमा नभेटिएमा आफैँ टिकट बन्नेछ, जसबाट जिज्ञासा र गुनासोको निरन्तर फलोअप तथा समाधान सहज हुने बैंकले बताएको छ ।
बैंकले यो सेवालाई नेपालको बैंकिङ क्षेत्रका लागि नयाँ डिजिटल अभ्यासका रूपमा अघि सारेको छ । डिजिटल प्रविधिको विस्तारसँगै ग्राहक सेवाको गुणस्तर उठाउने प्रयासअन्तर्गत नै यो प्रणाली ल्याइएको बैंकको दाबी छ ।
