चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा देशका २८ वटा भन्सार नाकाबाट वस्तु भित्रिए पनि तीमध्ये १२ वटाबाट स्वदेशी सामान बाहिर पठाइएको छैन। भन्सार विभागले बुधबार सार्वजनिक गरेको विवरणले व्यापारका नाकाहरूबीच ठूलो असमानता देखाएको छ।
विवरणअनुसार यस अवधिमा वीरगञ्ज नाकाले आयात र निर्यात दुवैमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। सो नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरका विदेशी वस्तु भित्रिएका छन् भने ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरका स्वदेशी वस्तु बाहिर पठाइएका छन्।
आयातमा वीरगञ्जपछि भैरहवा र विराटनगर रहेका छन्। भैरहवाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ र विराटनगरबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड रुपैयाँ र मेची नाकाबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात भएको छ। रसुवाबाट ७ अर्ब ९१ करोड रुपैयाँ र तातोपानीबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको सामान आएको छ।
निर्यातमा विराटनगर दोस्रो स्थानमा छ। त्यहाँबाट २९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु बाहिर गएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७१ करोड रुपैयाँ, भैरहवाबाट ११ अर्ब ५१ करोड रुपैयाँ र मेची नाकाबाट ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
तर भद्रपुर, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी भन्सारबाट तीन महिनामा एक रुपैयाँको पनि निर्यात भएको छैन। चीनसँग जोडिएको मुख्य नाका तातोपानीबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको सामान भित्रिँदा बाहिर जाने वस्तुको मूल्य शून्य रहनुले ती नाकाहरूमा निर्यात गतिविधि पूर्ण रूपमा रोकिएको देखिन्छ।
