बङ्गालको खाडीमा विकसित भएको अर्नव चक्रवातको प्रभावलाई ध्यानमा राख्दै ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पथप्रदर्शक, पदयात्री र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। टानले सूचना जारी गर्दै सदस्य कम्पनीहरूलाई आफ्ना गाइड, सहयोगी र पर्यटकलाई समयमै जानकारी दिन र पूर्वतयारी मिलाउन भनेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार चक्रवात कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्नेछ र कात्तिक १२ गते रातिबाट नेपालमा पनि त्यसको प्रभाव देखिन थाल्नेछ।
कात्तिक १३ र १४ गते तराई, चुरे र मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ र हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको टानले जनाएको छ।
टानले कात्तिक १२ गतेबाटै ती क्षेत्रतर्फको पदयात्रा रोकेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। कात्तिक १३ र १४ गते आधार शिविर र तिलिचोजस्ता उच्च पर्यटकीय गन्तव्यबाट सुरक्षित ठाउँमा पुग्न भनिएको छ। पर्वतारोहणका लागि आधार शिविरतर्फ लागेका सदस्यलाई शुक्रबार र शनिबारसम्म यात्रा रोक्न भनिएको छ।
मध्य तथा उच्चपहाडी क्षेत्र र नदी किनार भएर हिँड्दा बाढीको जोखिम भएका खोला र नदीछेउ तथा पहिरो संवेदनशील क्षेत्रमा नबस्न र हिँडडुल नगर्न पनि आग्रह गरिएको छ। टानका अध्यक्ष सागर पाण्डेले मनास्लु, मनाङ, म्याग्दी र मुस्ताङ क्षेत्रका अस्थायी रूपमा मर्मत गरिएका सडक, पदमार्ग र पुल भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन भनेका छन्। मौसमसम्बन्धी जानकारीका लागि १११५ मा र विपद्मा सहयोगका लागि ०१२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने टानले जनाएको छ।
