डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ। खेतीको क्षेत्रफल र उत्पादन बढेसँगै यसलाई व्यावसायिक रूपमा अँगाल्ने किसानको सङ्ख्या पनि बढिरहेको छ। तर उत्पादन बढ्दा मूल्य घटेको छ, जसले किसानलाई चिन्तित बनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ। गत आर्थिक वर्षमा जिल्लामा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए। अघिल्लो वर्ष १९ हेक्टरमा गरिएको खेतीबाट १० मेट्रिकटन उत्पादन भएको थियो। क्षेत्रफल र उत्पादन दुवै बढे पनि किसानले भने उचित मूल्य पाउन सकेका छैनन्।
अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबी अहिले १५० रुपैयाँसम्ममा झरेको छ। कैलाली र कञ्चनपुरलगायत बजारका व्यापारीले किसानको बारीबाटै किबी किनेर लैजाने गरेका छन्।
आलिताल गाउँपालिका–२ लामिटुँडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा बिरुवा ल्याएर खेती सुरु गरेका थिए। अहिले उनको बगैँचामा ३०० भन्दा बढी बोट छन् र उनले किबीको नर्सरीसमेत चलाउँदै आएका छन्। गत वर्ष उनले ७५ क्विन्टल किबी बिक्री गरेका थिए।
नेपाली सेनाबाट अवकाश पाएपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा लागेका छन्। उनले रातो र पहेँलो किबीका बिरुवा प्रतिगोटा २०० रुपैयाँ र हरियो किबीका बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान दिँदै आएको छ। गत आर्थिक वर्षमा बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च भएको केन्द्रले जनाएको छ। उत्पादन बढेसँगै बजार विस्तार र मूल्य सुनिश्चित गर्न सकेमा जिल्लामा किबीखेती अझ व्यावसायिक बन्ने किसानहरूको भनाइ छ।
