नेपाली उद्यमी तथा व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य लिएर काठमाडौंमा एक वृहत् व्यवसाय सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने) ले आयोजना गरेको ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंको मेरियट होटलमा १३ कात्तिकमा सम्पन्न भएको हो ।
सम्मेलनमा सरकारी अधिकारी, उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि र विभिन्न क्षेत्रका विज्ञ सहभागी भएका थिए । डिजिटल अर्थतन्त्र, विश्व बजारमा नेपाली व्यवसायको सम्भावना, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तारजस्ता विषयमा छलफल गरिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले देशमा आयात भइरहेका वस्तु पहिचान गरी स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुनाखर भट्टले युवा उद्यमीको लगानीको दायरा विस्तार गर्नुपर्ने र वैदेशिक लगानी भित्र्याउन पहल आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र सार्क उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चण्डीराज ढकालले पनि सम्मेलनमा आफ्नो धारणा राखे ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपालका आवासीय प्रतिनिधि प्रणव गुप्ताले सम्मेलनमा मुख्य सम्बोधन गर्दै नेपालको आर्थिक अवस्था, आर्थिक सुधार र सम्भावित अवसरबारे आफ्नो धारणा प्रस्तुत गरे ।
सम्मेलनमा ‘नेपालको डिजिटल अर्थतन्त्र’ र ‘विश्व बजारदेखि आफ्नै भूमिसम्म : नेपालको आगामी व्यावसायिक अवसरको खोजी’ विषयमा दुई वटा प्यानल छलफल भएका थिए । फिनेका आईइसी अध्यक्ष गोकर्ण ढकालले नेपाली उद्यमीलाई देशको सीमा बाहिर व्यवसाय विस्तार गर्न प्रोत्साहित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
यसैबीच, फिनेले आफ्नो आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल १७ मा दुबईमा आयोजना गर्ने घोषणा गरेको छ ।
