पोखरा — पर्यटकीय शहर पोखरामा बुधबारदेखि फूल मेला सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले आयोजना गरेको नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।
कात्तिक २३ गतेसम्म चल्ने मेला पोखरा रङ्गशालाको खेलमैदानमा सञ्चालन हुनेछ। मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल र बिरुवा बिक्री तथा प्रदर्शनीमा राखिनेछन्। तिहार नजिकिँदै गर्दा फूलको माग बढेकाले मेलाले उत्पादक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने आयोजकको विश्वास छ।
मेलाको मुख्य उद्देश्य स्थानीय फूल उत्पादकलाई बजार उपलब्ध गराउनु र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा किन्ने वातावरण बनाउनु रहेको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए। पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन र स्वच्छ बजारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
महानगरका अनुसार पोखरामा करिब २०० रोपनी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ। आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा वार्षिक करिब तीन करोड रुपैयाँ बराबरको फूलको कारोबार हुन्छ र यस व्यवसायले स्थानीय अर्थतन्त्र तथा रोजगारीमा योगदान पुर्याइरहेको छ।
एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले तिहार तथा छठ पर्वका अवसरमा फूल र बिरुवा सहज रूपमा उपलब्ध गराउन मेला उपयोगी हुने बताए। संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी उत्पादन र बिक्रीमा संलग्न छन्।
