पाल्पाको कालीगण्डकी किनारमा रहेको ऐतिहासिक रानीमहल क्षेत्र असोज ११ गतेको अविरल वर्षापछि आएको बाढीले नराम्ररी प्रभावित भएको छ। कुनै समय पर्यटकको चहलपहलले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ भने महलको आँगनमा बाढीको क्षति देखिन्छ।
बाढीले व्यवसायका संरचना, सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारमा क्षति पुर्याएको छ। एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् र स्थानीय व्यवसायी आफ्नो पेसा फेरि कसरी सुरु गर्ने भन्ने चिन्तामा छन्।
स्थानीय व्यवसायी शंकर बस्यालले ठूलो लगानीमा सुरु गरेको व्यवसाय बाढीले तहसनहस बनाएको बताए। हरेक वर्ष दसैँमा रानीमहल घुम्न आउने पर्यटक बढ्ने गरे पनि यसपटक क्षेत्र बगरमा परिणत हुँदा व्यवसायी मर्कामा परेको उनको भनाइ छ। उनले विपत्तिपछि सरसफाइ र पुनःस्थापनामा स्थानीय सरकारले ध्यान नदिएको आरोप लगाउँदै क्षतिभन्दा पनि जिम्मेवार प्रतिनिधि अवस्था बुझ्न नआउँदा बढी निराश भएको बताए।
तानसेन नगरपालिकाले भने आफ्नो क्षेत्राधिकारभित्रका क्षतिग्रस्त संरचना हटाएर व्यवस्थापन गरेको दाबी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार दरबार परिसरमा अहिले अस्तव्यस्त अवस्था छैन। आसपासका केही अस्तव्यस्त संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रमा पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने उनले बताए।
बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर बाटो खुलाइएको बताइन्। निरन्तर वर्षा र दसैँ बिदाका कारण व्यवस्थापन तत्काल अघि बढाउन नसकिएको भन्दै उनले एक-दुई दिनभित्र डोजर पठाएर पुरिएका सामग्री हटाउने र बगर सम्याउने बताइन्।
नेपालको ताजमहल भनिने रानीमहल तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा छ। तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले पत्नी तेजकुमारी देवीको सम्झनामा वि.सं. १९५४ मा यो महल बनाएका थिए। भारतबाट इन्जिनियर झिकाएर निर्माण गर्न पाँच वर्ष लागेको थियो।
