काठमाडौं — सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सम्भावित आन्दोलन र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मातहतका सबै युनिटलाई उच्च सतर्क रहन निर्देशन दिएका छन्।
बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको कार्य विभागले आयोजना गरेको भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै महानिरीक्षक पौडेलले बाहिनी, गण, गुल्म तथा बेस तहसम्मका कमान्डरलाई राष्ट्रिय सुरक्षा, नागरिकमैत्री सेवा प्रवाह र संस्थागत जवाफदेहितामा केन्द्रित भएर काम गर्न निर्देशन दिए।
जुनसुकै समयमा हुन सक्ने आन्दोलन, विरोध कार्यक्रम तथा अन्य सुरक्षा चुनौतीप्रति पूर्वतयारी अपनाउन उनले जोड दिए। भीड नियन्त्रणका क्रममा अनावश्यक बल प्रयोग नगर्न सचेत गराउँदै बल प्रयोग गर्दा समानुपातिक, कानुनी, जवाफदेही र आवश्यकताको सिद्धान्त पालना गर्नुपर्ने उनको भनाइ थियो।
सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले दुई दशकभन्दा बढी समयको अनुभव हासिल गरिसकेको उल्लेख गर्दै पौडेलले त्यसलाई ठोस परिणाममा रूपान्तरण गर्न संस्थागत क्षमता बढाउनुपर्ने बताए। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि तत्काल प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि समकक्षी सुरक्षा निकायसँगको सम्बन्ध सुदृढ बनाउँदै सूचना संकलन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
कमान्डरको भूमिका अधिकारमा मात्र नभई जिम्मेवारी र नैतिक नेतृत्वमा समेत मापन हुने उल्लेख गर्दै उनले आफ्नो निर्णय र मातहतको कार्यसम्पादनको पूर्ण जिम्मेवारी लिन निर्देशन दिए। पौडेलले संगठनभित्र भ्रष्टाचार, अनियमितता, दुराचार र अनुशासनहीनताविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिएको बताए। संगठनको प्रतिष्ठा प्रत्येक राष्ट्रसेवकको आचरणसँग जोडिने भएकाले औपचारिकतामा सीमित नभई परिणाममुखी कार्यसंस्कृति विकास गर्नुपर्ने उनको भनाइ थियो।
सोही अवसरमा महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्य सञ्चालन केन्द्रको उद्घाटनसमेत गरे। सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेलसहित सबै प्रदेशका बाहिनीपति तथा वरिष्ठ र कनिष्ठ अधिकृतहरू भर्चुअल माध्यमबाट सहभागी थिए।
