Thursday, November 5, 2026
Breaking
दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

विनोद चौधरीविरुद्धको योग्यता मुद्दा सर्वोच्चमा विचाराधीन, २३ पटक पेसी

राजनीति By

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशी कोटामा उपसभापति निर्वाचित भएका उद्योगपति विनोद चौधरीविरुद्ध १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै दायर भएको निवेदनको अझै टुंगो लागेको छैन । उक्त निवेदन अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा भएको १५औँ महाधिवेशनमा चौधरीले एक हजार ७४५ मत प्राप्त गरी समावेशी उपसभापति पदमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत पाएका थिए । एक पदका लागि पाँच जनाबीच भएको प्रतिस्पर्धामा फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका थिए ।

तर १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै उनका प्रतिस्पर्धी डा. सुभाषचन्द्र यादवले उजुरी दायर गरेका थिए । त्यो उजुरी तत्कालीन पार्टीको निर्वाचन समिति, पार्टी केन्द्रीय कार्यालय, निर्वाचन आयोग हुँदै अहिले सर्वोच्च अदालतमा पुगेको छ । यादवले आफूले दायर गरेको रिट अझै सर्वोच्च अदालतमा कायमै रहेको बताएका छन् । कात्तिक १३ गतेका लागि तोकिएको पेसी स्थगित भएको उनको भनाइ छ ।

डा. यादवका अनुसार कांग्रेस विधानमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्छ । तर चौधरीको त्यो अवधि नपुगेको उनको दाबी छ । उनले विधानमा रहेको व्यवस्था उद्धृत गरेर उम्मेदवारीको दाबी विरोधको सूचना दिएका थिए । तर तत्कालीन निर्वाचन समितिले त्यो सूचनामा चित्तबुझ्दो जवाफ नदिएको उनको गुनासो छ ।

निर्वाचन समितिले योग्यता निर्धारण गर्ने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयको भएको बताएपछि यादव केन्द्रीय कार्यालय पुगे । केन्द्रीय कार्यालयले चौधरीले अरु उम्मेदवार सरह पार्टी सदस्यता लिएको १० वर्ष पुगेको योग्यताको पत्र पेस गरेको जवाफ दियो । त्यसपछि यादव निर्वाचन आयोग पुगे र अवैधानिक पद खारेजको माग गर्दै निवेदन दिए । आयोगले पत्र दर्ता गरे पनि आफूलाई छलफलमा नबोलाएको यादवले बताए ।

आयोगले आफ्नो निवेदनबारे कांग्रेस केन्द्रीय कार्यालयमा सोधेको थियो । केन्द्रीय कार्यालयले निर्वाचन समिति पार्टीको अन्तिम निकाय भएको र त्यसको निर्णय सर्वोपरी भएको लेखेर जवाफ पठायो । त्यही पत्रका आधारमा आयोगले यादवेलाई लिखित जवाफ पठाएपछि उनी सर्वोच्च अदालत गएका हुन् ।

सर्वोच्च अदालतको रेकर्डमा उक्त रिट २३ पटक पेसीको तारेख लिएको देखिन्छ । रिट ६ पटक हेर्न नभ्याइनेमा परेको छ भने ३ पटक आदेश भएको छ ।

चौधरी २०७४ सालमा कांग्रेसमा औपचारिक प्रवेश गरेका थिए । उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले पत्र नै काटेर पार्टीमा आउन आग्रह गरेका थिए । उनी समावेशी कोटा प्रयोग गरेर २०७८ सालमा भएको १४औँ महाधिवेशनमा मधेसी कोटामा दुई हजार २०६ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेस विधानमा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय पदाधिकारी र सदस्यका लागि १० वर्षको समयसीमा तोकिएको छ । यो व्यवस्था अहिले विधान संशोधन गर्दा पनि कायमै राखिएको विधान मस्यौदा समितिका एक सदस्यले जानकारी दिएका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिमा जीवन परियार, राजीव ढुंगाना, कुसुम थापा मगर र ईश्वरी न्यौपाने सदस्य थिए भने सदस्यसचिव प्रताप पौडेल थिए । पार्टी स्रोतका अनुसार अर्को पार्टीबाट आएकाहरूको हकमा क्रियाशील सदस्यताको गणनासम्बन्धी छुट्टै व्यवस्था राखिएको छ, तथापि विधान सार्वजनिक भइसकेको छैन । सुरुमा निवर्तमान सभापति देउवानिकट रहेका चौधरी जेनजी आन्दोलनपछि गगन थापासँग निकट भएका छन् । थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनमा सहभागी भएर केन्द्रीय सदस्य बनेका चौधरी अहिले १५औँ महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमितिमा समावेशी कोटाको उपसभापति बनेका छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *