काठमाडौं — यस वर्षको हिउँदमा शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति घटाउन सरकारले पूर्वतयारी थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको आकलन गर्दै तयारी आजदेखि अघि बढाएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमपात तथा शीतलहर पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको समीक्षा बैठकमा चिसो मौसमको जोखिमलाई सामान्य मौसमी अवस्थाका रूपमा मात्र नहेर्न आग्रह गरे। मनसुनजन्य विपद्को प्रतिकार्यमा जस्तै चिसोबाट हुने जोखिम न्यूनीकरणका लागि पनि सम्बन्धित निकाय सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
मध्य मङ्सिरदेखि मध्य फागुनसम्मको हिउँदे अवधिमा तराईमा शीतलहर, कुहिरो र हुस्सु लाग्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने जोखिम रहन्छ। शीतलहरका समयमा पिएम २.५ र पिएम १० को मात्रा बढ्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। नेपालमा वायु गुणस्तर सूचकाङ्क १५० देखि ४००–५०० सम्म पुगेका उदाहरण रहेको भन्दै उनले त्यस्तो अवस्थामा स्वास्थ्यसम्बन्धी विशेष सूचना र सचेतना जारी गर्नुपर्नेमा जोड दिए। चिसो तथा प्रदूषणको अवस्था गम्भीर बनेमा विद्यालय बन्द गर्ने र सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेजस्ता उपाय अपनाउनुपर्ने उनको भनाइ छ।
बाक्लो हुस्सु र तुवाँलोका कारण दृश्यता घटेर कतिपय अवस्थामा ५० मिटरमा सीमित हुने भएकाले सवारीसाधन सञ्चालन र हवाई उडानमा विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए। दुई हजारदेखि दुई हजार ५०० मिटरभन्दा माथिका भूभागमा हिमपात हुनसक्ने भएकाले त्यहाँका बासिन्दा, पर्यटक तथा यात्रुको सुरक्षाका लागि आवश्यक तयारी गर्नुपर्नेमा उनले जोड दिए। घरभित्र आगो वा हिटर बाल्दा हावा आवतजावत हुने व्यवस्था गर्न डा. उप्रेतीले आग्रह गरे। गर्भवती, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई चिसोबाट जोगाउन विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। शीतलहरको सूचना जारी भएपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जोखिमयुक्त क्षेत्रमा दाउरा वितरण गर्ने र विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल उपलब्ध गराउने प्रतिकार्य गर्नुपर्ने उनले बताए।
