साङ्घाई — चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो बिहीबारदेखि सुरु भएको छ। आयात व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिने विश्वकै पहिलो राष्ट्रियस्तरको प्रदर्शनीका रूपमा परिचित यो एक्सपो नोभेम्बर ५ देखि १० सम्म सञ्चालन हुनेछ।
एक्सपोको उद्घाटन समारोहमा चिनियाँ उपप्रधानमन्त्री डिङ जुएजियाङले मुख्य सम्बोधन गरेका छन्। यस वर्षको एक्सपोमा चार हजार १४२ विदेशी प्रदर्शक सहभागी भएका छन्। सहभागीमध्ये ३०० भन्दा बढी फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका कम्पनी तथा उद्योग क्षेत्रका प्रमुख कम्पनी छन्।
एक्सपोमा ४८० भन्दा बढी उत्पादन, प्रविधि तथा सेवाले विश्व, एसिया वा चीनमा पहिलोपटक सार्वजनिक हुने अवसर पाउनेछन्। यो एक्सपोको इतिहासमा अहिलेसम्मकै उच्च सङ्ख्या हो।
यस वर्ष प्रदर्शनीका लागि चार लाख ४० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफल छुट्याइएको छ। अमेरिकी प्रदर्शकहरूले मात्रै ५० हजार वर्गमिटरभन्दा बढी क्षेत्र ओगटेका छन्। जर्मनी, बेलायत र फ्रान्सका कम्पनी पनि प्रमुख सहभागीका रूपमा रहेका छन्।
एक्सपोमा बौद्धिक उद्योग तथा सूचना प्रविधि, उपभोक्ता वस्तु, खाद्य तथा कृषि उत्पादन, अटोमोबाइल, चिकित्सा उपकरण तथा स्वास्थ्य सेवा गरी छवटा प्रमुख प्रदर्शनी क्षेत्र समेटिएका छन्। यसका अतिरिक्त राखिएको इन्क्युबेसन खण्डमा करिब ४० देश तथा क्षेत्रका ६३३ प्रविधि तथा नवप्रवर्तनसम्बन्धी परियोजना समावेश छन्, जुन अघिल्लो संस्करणको तुलनामा करिब २० प्रतिशत बढी हो।
एक्सपोसँगै साङ्घाईमा आयोजित होङ्कियाओ अन्तर्राष्ट्रिय आर्थिक मञ्चले बिहीबार ‘विश्व खुलापन प्रतिवेदन २०२६’ सार्वजनिक गरेको छ। सन् २०१७ मा घोषणा गरिएको यो एक्सपो सन् २०१८ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। अघिल्ला आठ संस्करणमा १८० भन्दा बढी देश, क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहेको थियो भने ती प्रदर्शनीबाट भएका कुल इच्छित कारोबार सम्झौताको मूल्य ५८० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको जनाइएको छ।
