साउदी अरबमा रोजगारीका क्रममा ड्रोन आक्रमणमा ज्यान गुमाएका महोत्तरीका भरत महतोको शव भोलि नेपाल ल्याइने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतले शव भोलि आइपुग्ने जनाएको छ।
साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामको परियोजनामा मजदुरी गर्ने क्रममा हुथीले प्रहार गरेको ड्रोनबाट भरतसहित एक जना पाकिस्तानी र एक जना भारतीय श्रमिकले पनि ज्यान गुमाएका थिए।
भरत साउदीको अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमा सरसफाइको काम गरिरहेका थिए। कात्तिक ४ गते भएको ड्रोन आक्रमणमा परी उनको मृत्यु भएको थियो। आक्रमण परेकै दिन त्यहाँका सुपरभाइजरले फोन गरेर परिवारलाई जानकारी गराएका थिए। घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो, तर सोही साँझ उनको निधन भएको खबर परिवारले पाएको उनकी श्रीमतीले बताएकी छन्।
मृतक भरतकी पत्नी इन्द्रिकादेवीले पतिको शव नेपाल ल्याउन पहलका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन्। सो निवेदन गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पठाइएको थियो। शव नेपाल ल्याउन लागिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।
मृतकका परिवारले एक लाख ८० हजार साउदी रियाल क्षतिपूर्ति समेत पाएको छ। भरत २०६९ सालदेखि साउदीमा श्रमिकका रूपमा काम गर्दै आएका थिए।
