झापा । विश्व बैङ्कको आर्थिक सहयोगमा बिर्तामोड नगरपालिकामा छ वटा पक्की सडक निर्माण सम्पन्न भएको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत नगरपालिकाका वडा नं ६, ७ र ८ मा ती सडक बनेका हुन् ।
नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोकसम्म जोडिने मुख्य सडकसहित छ वटा सडकका लागि विश्व बैङ्कले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले जानकारी दिइन् । उक्त सडक ६ दशमलव २५ किलोमिटर लामो र १२ मिटर चौडा रहेको छ ।
आरपी समता जेभीले २०८० साल वैशाख २६ गते निर्माण सुरु गरेको थियो । निर्माण व्यवसायीले तोकिएको समयभित्रै काम पूरा गरेको नगरपालिकाले जनाएको छ ।
सडक बनेपछि वडा नं ६, ७ र ८ का बासिन्दाको दैनिक आवागमन सहज भएको छ । बजारसम्म पुग्न र सामान ढुवानी गर्न पहिले भन्दा धेरै सजिलो भएको स्थानीयले बताएका छन् ।
सडकको दुवैतर्फ सौर्य बत्ती जडान गर्ने तयारी पनि अघि बढेको छ । त्यसका लागि कोशी प्रदेश सरकारसँग पहल भइरहेको नगरप्रमुख प्रसाईँले बताइन् । बत्ती जडान भएपछि रातिको समयमा पनि सुरक्षित रूपमा हिँडडुल गर्न सकिने नगरपालिकाको अपेक्षा छ ।
