नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। मधेसको महोत्तरीलगायत प्राचीन मिथिला क्षेत्रमा पर्वको पहिलो दिन साँझ घरघरमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको भएको छ। मिथिला परम्परामा त्रयोदशीका दिन साँझ दीप बालेर धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर पूजा गरिन्छ।
आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताएका छन्। मिथिला क्षेत्रमा दिन, नक्षत्र, तिथि र चाडबाडको निर्क्योल मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिने चलन छ।
मिथिलामा बोलीचालीमा दिवाली भनिने दीपावलीको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरिन्छ। धनतेरसका दिन खरेटो र धनियाँसहितका सामग्री नयाँ किन्ने प्रचलन छ।
पञ्चाङ्गअनुसार त्रयोदशी आज बिहान ११ बजेर १० मिनेटपछि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। त्रयोदशीकै दिन गरिने काग पूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेका छन्। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिनेछ। दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाएर सम्पन्न गरिनेछ।
