म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षण पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ । बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब रु पाँच करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षतिग्रस्त बनाएको थियो । नदीको कटानले पर्खालसँगै चक्रपथसमेत प्रभावित भएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसका लागि एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापन गरिनेछ । पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको संरक्षणका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । उनले आयोजनालाई छिटो लागत अनुमान तयार गरी बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन अनुरोध गरे । आयोजना प्रमुख प्रेमहरि पराजुलीका अनुसार मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको भए पनि पछिल्लो समय क्षतिको विवरण थपिएकाले अद्यावधिक विवरण तयार गरी बजेटका लागि विभागमा पठाउने तयारी भएको छ ।
यसअघि पनि सोही स्थानमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो ।
