रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा रहेको पार्वतीकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको साझा आस्थाको केन्द्र हो। आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङ गाउँको शिरमा अवस्थित यो कुण्ड धार्मिक महत्व, तामाङ संस्कृति र हिमाली सौन्दर्यको सङ्गम भएर पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।
तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिन्छ। यही मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम आमाछोदिङ्मो राखिएको हो। सुरुमा यसै कुण्डको नामबाट गाउँपालिका पार्वतीकुण्ड नामकरण गरिएको थियो। पछि पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरिएको थियो।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार यहाँ अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन विकास गर्ने ठूलो सम्भावना छ। तर आवश्यक भौतिक पूर्वाधार नबन्दा र राष्ट्रियस्तरमा प्रचार हुन नसक्दा क्षेत्र अझै पछाडि छ। उनले संरक्षण र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजना आवश्यक रहेको बताइन्।
हिन्दु धार्मिक विश्वासअनुसार यस कुण्डको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिएको छ। शिवको खोजीमा माता पार्वती यही स्थानमा विराजमान भएको जनश्रुति छ। यहाँ स्नान गरे मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। मानसरोवरको तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्री पनि यहाँ स्नान गर्न आउने गर्छन्।
यो कुण्ड प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्छ। कुण्डनजिकैको ज्यार्सा भ्यूप्वाइन्टबाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगल हिमशृङ्खला देख्न सकिन्छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि यो क्षेत्र थप ओझेलमा परेको छ। संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचार हुन सके पार्वतीकुण्ड मुलुककै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने अपेक्षा स्थानीयले गरेका छन्।
