काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
नेपाल संवत् नयाँ वर्ष प्रारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण संवत् भएको बताएका छन्।
उनले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
इतिहासअनुसार शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा प्रारम्भ भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ।
