ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ एसिया–प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको प्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोग (यूएन इएससीएपी) ले आयोजना गरेको सम्मेलनमा मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनका क्रममा थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा ‘सगरमाथादेखि सागरसम्म : एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशाला पनि आयोजना गर्दैछन्। मन्त्री श्रेष्ठले बिहीबार उक्त कार्यशालालाई सम्बोधन गर्नेछन्।
मन्त्री श्रेष्ठले सम्मेलनका क्रममा विभिन्न देशका मन्त्रीहरूसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले जानकारी दिए। महर्जनका अनुसार मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय भूउपग्रहको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिका विषयलाई सम्मेलनमा उठाउनेछन्।
भ्रमण टोलीमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन्। मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।
