वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीसँग जोडिएका २५ वटा म्यानपावर कम्पनीमाथि मंगलबारदेखि अनुगमन थालेको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा छनोट भएका कम्पनीहरूमाथि अनुगमनसँगै छानबिन पनि भइरहेको विभागले जनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिए तत्काल कारबाही गरिने विभागको भनाइ छ।
विभागका महानिर्देशक नवराज ढकालले अनुगमन सुरु भएको पुष्टि गर्दै यसअघि नै कम्पनी सञ्चालकहरूमाथि पक्राउ पुर्जी जारी गरेर प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार अनुगमनका लागि अनुसन्धान अधिकृत तोकिएको छ र कानुनी विधि पूरा गरेर अनुसन्धान अघि बढेको छ।
विभागले यी २५ कम्पनीले एकाधिकार कायम गर्दै आफू मात्रै मलेसियाको प्रणालीमा आबद्ध भएको आरोपमाथि छानबिन गरिरहेको छ। अर्कोतर्फ म्यानपावर व्यवसायीहरूले कूटनीतिक माध्यमबाट आफूलाई मलेसियाको सूचीबाट हटाइदिन सरकारसँग अनुरोध गरेका छन्।
यसैबीच विभागले पक्राउ पुर्जी जारी गरिएका कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई मंगलबार नै सूचना जारी गर्दै ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ। तोकिएको समयमा सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोकिने सूचनामा उल्लेख छ।
मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले आपसी संवाद गर्ने प्रस्ताव गरेको छ। मन्त्रालयले नोभेम्बर १८-१९ वा डिसेम्बर २-३ मा द्विपक्षीय संयन्त्रअन्तर्गतको संयुक्त कार्य समूहको बैठक राख्न प्रस्ताव गरेको हो।
