नेकपा (एमाले) ले मंसिर २ र ३ गते गर्न लागेको राष्ट्रिय भेलाको तयारी अगाडि बढाएको छ। यसै क्रममा मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा दोस्रो तयारी बैठक बस्यो। बैठकमा उपाध्यक्ष विष्णु पौडेल प्रमुख अतिथि थिए।
पौडेलले भेलाको मुख्य लक्ष्य पार्टीभित्र एउटै सोच र एउटै गति निर्माण गर्नु रहेको बताए। पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका विषयमा नेता तथा कार्यकर्ताको बुझाइ एउटै हुनुपर्ने उनको भनाइ थियो। केन्द्रीय कमिटीको निर्णय स्मरण गर्दै उनले भेलाले कार्यकर्तामा उत्साह थप्ने र स्थानीय निर्वाचनको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्थानीय निर्वाचनमा एमालेले आफ्नो शक्ति र क्षमता देखाउनुपर्नेमा उनले जोड दिए। २०८२ सालको निर्वाचनको नतिजालाई क्षणिक धक्का भन्दै उनले व्यवहारबाटै पार्टीलाई पुरानो राजनीतिक धारमा फर्काउनुपर्ने बताए। परिस्थिति अनुसारकै तयारीसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महासचिव शंकर पोखरेलले भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय हुन र भेलाको सन्देश आम जनतासम्म पुर्याउन व्यापक प्रचारमा जुट्न आग्रह गरे।
सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार एक सय ६४ जना सहभागी हुनेछन्।
केन्द्रीय सदस्य ३४६, केन्द्रीय निकायबाट ८१ र प्रदेश तथा प्रवासबाट ५५ जना रहनेछन्। जिल्ला तहबाट ४४० जना र पालिका तहबाट एक हजार पाँच सय छ जना सहभागी हुनेछन्। संघीय संसद् र राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभाबाट १५५ जना, मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने जनाइएको छ।
एमालेले भेलालाई एकता बलियो बनाउने र कार्यकर्तालाई परिचालित गर्ने अवसरका रूपमा लिएको छ।
