म्याग्दी जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय स्थापना भएका छन्। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जलस्रोत तथा सिँचाइ आयोजना र स्थानीय पूर्वाधार विकास आयोजनाका कार्यालय जिल्लामा थपिएका हुन्। कार्यालयहरू जिल्लामै सञ्चालनमा आएपछि विकास आयोजना कार्यान्वयनमा सहज हुने अपेक्षा गरिएको छ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार मन्त्रालयले तीन कार्यालय विस्तार गर्ने निर्णय गर्दै सहजीकरणका लागि समितिलाई पत्र पठाएको छ। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय साविकको एकाइ रहेको भवनबाट चल्नेछ भने बाँकी दुई कार्यालयका लागि भवन खोजिँदै छ।
स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ तोकिएको छ भने खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ हेर्नेछ। जलस्रोत तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहनेछन्। आर्थिक वर्ष २०८२/०८३ मा खानेपानी कार्यालय पोखरामा गाभिएर बेनीमा एकाइ मात्र रहेको थियो भने अन्य दुई कार्यालय बेनीमा थिएनन्; तीनै कार्यालय यसअघि पोखरामा थिए।
सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी र सिँचाइका योजना हेर्ने कार्यालयहरू जिल्लामै हुँदा योजना छनौटदेखि कार्यान्वयनसम्म सहज हुने खत्रीले बताइन्। तिहारअघि नै तीनै कार्यालय सञ्चालनमा ल्याउने तयारी छ।
