इरानसँगको युद्धमा अमेरिकाले खर्च गरेको रकम ४७ अर्ब डलरभन्दा माथि पुगेको पेन्टागनको नयाँ अनुमानले देखाएको छ। रोयटर्सले मंगलबार सार्वजनिक गरेका विवरणअनुसार यो रकम गत जुलाईमा अनुमान गरिएको ३७ अर्ब ५० करोड डलरभन्दा २५ प्रतिशतभन्दा बढीले बढेको हो।
नयाँ अनुमानमा युद्ध सञ्चालनको खर्चसँगै प्रयोग भएका हतियार फेर्न र गुमेका सैन्य सामग्री बदल्न आवश्यक रकम पनि समेटिएको छ। प्रयोग भइसकेका क्षेप्यास्त्र तथा अन्य हतियार पुनः किन्न २९ अर्ब डलरभन्दा बढी र गुमेका विमान, ड्रोन तथा अन्य उपकरण बदल्न ६ अर्ब डलरभन्दा बढी चाहिने पेन्टागनले जनाएको छ। हतियार भण्डार भर्न र उपकरण बदल्न मात्रै ३५ अर्ब डलरभन्दा बढी आवश्यक पर्ने अनुमान छ।
इरानी आक्रमणबाट अमेरिकी सैन्य अड्डामा पुगेको क्षति मर्मत गर्न लाग्ने ठूलो रकम भने नयाँ अनुमानमा स्पष्ट रूपमा समेटिएको छैन। त्यसैले वास्तविक खर्च अझ बढ्न सक्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग मिलेर गत फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गरेका थिए। सुरुमा युद्ध छोटो समयमै सकिने अपेक्षा गरिएको थियो। अप्रिलमा युद्धविराम भएपछि इरानले भूमिगत भण्डारणमा रहेका केही क्षेप्यास्त्र, ड्रोन र रक्षा प्रणाली पुनः सञ्चालनमा ल्याएको रोयटर्सले जनाएको छ। युद्धविरामपछि ट्रम्पले इरानको तेल निर्यातबाट हुने आम्दानी रोक्न नौसैनिक नाकाबन्दी लगाएका छन्। नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि फेरि ठूलो सैन्य कारबाही हुन सक्ने सम्भावना पनि उनले खुला राखेका छन्।
युद्धको बढ्दो खर्चले अमेरिकी राजनीतिमा पनि दबाब सिर्जना गरेको छ। ऊर्जा मूल्य बढेकाले रिपब्लिकन उम्मेदवार र ट्रम्पको लोकप्रियतामा असर परेको बताइएको छ।
