काठमाडौँको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका क्रममा जुम्ल्याहा शिशुको मृत्यु भएको घटनाको क्षतिपूर्ति मुद्दा अब उपभोक्ता अदालतले हेर्ने भएको छ। काठमाडौँ जिल्ला अदालतले बाँकी कारबाहीका लागि मुद्दा त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतमा पठाउने आदेश दिएको हो।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले उपभोक्ता संरक्षण ऐन, २०७५ ले चिकित्सकीय सेवालाई पनि आफ्नो दायराभित्र राखेको भन्दै मुद्दा पठाउने आदेश दिएको हो। अदालतले जिल्ला अदालतको लगत कट्टा गरी सम्पूर्ण मिसिल उपभोक्ता अदालतमा पठाउन भनेको छ।
पीडित आमा विद्या राणाले अस्पताल र चिकित्सकको लापरबाहीले दुई शिशु गुमाउनु परेको दाबी गर्दै डा. प्रयास श्रेष्ठ कक्षपतीसहितलाई विपक्षी बनाएर क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन्।
चितवनकी २४ वर्षीय राणाले २०८१ असार २४ गते राति एक मिनेटको फरकमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। सामान्य अवस्थामा जन्मिएको भनिए पनि शिशुहरूलाई जन्मनेबित्तिकै एनआइसीयूमा राखियो। परिवारका अनुसार आमालाई स्तनपान गराउन दिइएन। असार २७ गते डिस्चार्ज गर्ने भनिएको थियो, तर सोही राति पहिलो शिशुमा निद्रामा सास रोकिने समस्या देखिएको भन्दै एन्टिबायोटिक सुरु गरियो र नाइटोबाट शल्यक्रिया गरी औषधि दिइयो।
शल्यक्रियापछि पहिलो शिशुको अवस्था गम्भीर भएपछि परिवारले असार २९ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्यायो। त्यहाँका चिकित्सकका अनुसार नाइटोबाट अत्यधिक आन्तरिक रक्तस्राव भएको थियो। उपचारकै क्रममा असार ३१ गते पहिलो शिशुको निधन भयो, भने करुणा अस्पतालमै रहेको दोस्रो शिशुको असार ३० गते बिहान आन्तरिक रक्तस्रावकै कारण मृत्यु भयो।
एक साताभित्रै दुवै सन्तान गुमाएपछि विद्या राणा र प्रदीप भट्ट न्यायको खोजीमा छन्। उनीहरूले नेपाल मेडिकल काउन्सिल, प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन्। परिवारको आरोप छ, रकम असुल्न शिशुहरूलाई अनावश्यक रूपमा एनआइसीयूमा राखियो र उपचारमा गम्भीर लापरबाही भयो।
