यातायात व्यवस्था विभागले सवारीसाधनमा आधुनिक सुरक्षा उपकरण राख्ने कम्पनीहरू छनोट गर्ने काम सुरु गरेको छ। सवारीलाई प्रविधिमैत्री बनाउँदै यात्रुको सुरक्षा बलियो पार्न विभागले इच्छुक सेवा प्रदायकबाट निवेदन मागेको हो।
‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ लागू गर्ने क्रममा यो प्रक्रिया थालिएको हो। मापदण्डअन्तर्गत सवारीमा भेहिकल लोकेशन ट्र्याकिङ डिभाइस, आपत्कालीन अवस्थामा जानकारी दिने प्यानिक बटन र क्यामेरा प्रणाली राख्नुपर्नेछ। इच्छुक कम्पनीले ३५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ।
आवेदन दिने कम्पनीसँग जीपीएस र टेलिमेट्रिक्स उत्पादनमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्छ। त्यससँगै नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति (टीएपी–०४), अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण र काठमाडौँबाहिर सेवा केन्द्र हुनु पनि अनिवार्य गरिएको छ।
कागजात पूरा भएका कम्पनीका उपकरण विभागको सर्भरमा परीक्षण गरिनेछ। परीक्षण सफल भएमा सुरुमा तीन महिनाका लागि अस्थायी सूचीकरण दिइनेछ र त्यसपछि मात्र पूर्ण सूचीकरण हुनेछ। परीक्षणमा सफल नभएका उपकरण सूचीकरणमा पर्नेछैनन्।
यसअघि मापदण्डसँग नमिल्ने गरी उपकरण जडान गरिसकेका सवारीसाधनले छ महिनाभित्र नयाँ मापदण्डअनुसार उपकरण बदलिसक्नुपर्नेछ। इच्छुक कम्पनीले विभागको कार्यालयमा पुगेर वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदनसँगै कम्पनीले आफ्नो अनुभव र स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्नेछ।
