काठमाडौं — अर्थ मन्त्रालय मातहतका निकायमा पाँच सहसचिव पद रिक्त छन्। सरुवा र राजीनामाले खाली भएका पदमा निमित्त अधिकारीहरूले काम चलाइरहेका छन्, तर महत्वपूर्ण निर्णय लिनुपर्दा समस्या देखिएको अधिकारीहरूले बताएका छन्।
नयाँ सरकार गठन भएको २०८२ चैत १३ यतादेखि मन्त्रालयका सबै सहसचिव पद र जिम्मेवारी एकैपटक कहिल्यै पूर्ण भएका छैनन्।
असोज १३ को मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सहसचिव रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गर्यो। उक्त कार्यालयमा अझै नयाँ सहसचिव नपठाइँदा उपसचिव धनबहादुर बरुवालले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका छन्। सोही दिन संयुक्त महालेखा नियन्त्रक विष्णु ज्ञवाली अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि महालेखा नियन्त्रक कार्यालय पनि नेतृत्वविहीन छ।
श्रावणको अन्तिम साता धनीराम शर्मा एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक बनेर मनिला गएपछि अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा अमृत लामिछानेलाई दिइयो। तर लामिछानेले यसअघि हेरेको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा नयाँ सहसचिव नआउँदा उनीमाथि दुई महाशाखाको भार परेको छ।
असोज १९ मा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र पाण्डे र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्तता झन् बढ्यो। ऋण कार्यालयमा मोहनसिंह बस्नेतले निमित्त प्रमुखको जिम्मेवारी पाएका छन् भने श्रेष्ठले हेरेको नीति विश्लेषण तथा व्यवस्थापन महाशाखामा पनि नयाँ सहसचिव तोकिएको छैन।
अधिकारीहरूका अनुसार दैनिक काम निमित्त व्यवस्थाबाट चलिरहे पनि नीतिगत निर्णय, अन्तरनिकाय समन्वय र प्रस्ताव अन्तिम गर्ने प्रक्रियामा ढिलाइ हुने गरेको छ।
