अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फेरि युद्ध सुरु हुने सम्भावना निकै कम रहेको बताएका छन् । यद्यपि इरानले अमेरिकासँग विश्वसनीय र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यकता परे फेरि आक्रमण गर्ने चेतावनी पनि उनले दिएका छन् ।
आइतबार सीएनएनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानसँगको युद्ध पुनः हुने सम्भावना अत्यन्त कम भएको बताए । इरानले भरपर्दो र बलियो सम्झौता गर्छ कि गर्दैन भन्ने कुरामा यो निर्भर रहने उनको भनाइ थियो ।
पछिल्ला केही सातादेखि ट्रम्पले इरानमाथि पुनः हमला गर्ने चेतावनी दिइरहेका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनपछि इरानसँग फेरि सैन्य द्वन्द्व चर्किन सक्ने आकलन गरेका थिए ।
आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न अमेरिका तयार रहेको ट्रम्पले बताए । उनले अमेरिका इरानमाथि निकै कडा प्रहार गरिसकेको र आवश्यक परे फेरि हमला गर्ने बताए ।
इरानमाथि लगाइएको आर्थिक दबाबले त्यहाँको नेतृत्वलाई अमेरिकी सर्त मान्न बाध्य बनाउने दाबी पनि ट्रम्पले गरे । इरान आर्थिक रूपमा झन् कमजोर हुँदै गएको भन्दै उनले इरानलाई असफल राष्ट्रको संज्ञा दिए ।
ट्रम्पका अनुसार इरानको मुद्रास्फीति यस वर्ष ३०१ प्रतिशत पुगेको छ । तर इरानको आधिकारिक तथ्याङ्कले सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति करिब ९० प्रतिशत पुगेको देखाएको थियो ।
सोमबार ट्रम्पले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई ह्वाइट हाउसमा भेट्ने कार्यक्रम छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अमेरिकी संसद् (कंग्रेस) को नियन्त्रण गुमाएपछि विदेशी नेतासँगको यो उनको पहिलो भेट हुनेछ ।
उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजापछि शान्ति वार्ता रोकिएको बताएका छन् । आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले निर्वाचनको नतिजाले सबैलाई अचम्ममा पारेको र त्यसको राजनीतिक असरको मूल्याङ्कन भइरहेको बताए ।
मध्यस्थकर्ताहरू पछिल्ला केही दिनमा कतै भ्रमणमा नगएको उल्लेख गर्दै अराघचीले निर्वाचनको परिणामबारे अमेरिका कस्तो धारणा बनाउँछ भन्ने कुराको प्रतीक्षामा रहेको बताए । सोमबार सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्— अमेरिकी राष्ट्रपति ट्रम्पले अधिकांश अमेरिकी नागरिक इजरायलसँग असन्तुष्ट रहेको बुझेका छन् । इजरायलले अमेरिकी प्रशासनलाई बारम्बार युद्धमा तानेको भन्दै अमेरिकी नागरिकहरू हैरान भएको उनको भनाइ छ ।
यसैबीच, हर्मुज जलडमरूमा रहेको केश्म टापुमा आइतबार राति आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ । यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले त्यहाँ दुईवटा विस्फोट भएको समाचार दिएको थियो ।
कतार र पाकिस्तानसहित विभिन्न क्षेत्रीय शक्तिहरूले महिनौँदेखि युद्ध अन्त्य गर्न मध्यस्थताको प्रयास गरिरहेका छन्, तर अहिलेसम्म सफलता मिलेको छैन । अहिले प्रत्यक्ष सैन्य गतिविधि लगभग रोकिएको भए पनि तनाव भने कायमै छ । विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमा नाकाबन्दी गर्ने इरानको प्रयास जारी छ भने अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा प्रतिनाकाबन्दी कायम राखेको छ ।
