एजेन्सी । रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारेका छन् । यस्तो समयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका छन् ।
रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस बिजुली सेवाबाट वञ्चित भएका छन् । ती आक्रमणमा तीन जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
यसको जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ । आक्रमणमा तेल प्रशोधन केन्द्रलगायत संरचनामा आगो लागेको छ । घटनामा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको रुसी अधिकारीहरूको भनाइ छ ।
लेनिनग्राद क्षेत्रका प्रमुख अलेक्जान्डर ड्रोज्डेन्कोले हवाई प्रतिरक्षा प्रणालीले १४४ वटा युक्रेनी ड्रोन खसालेको बताएका छन् । रुसी सञ्चारमाध्यमले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमणका रूपमा वर्णन गरेका छन् ।
यसैबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका छन् । ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउन रोकेको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको छ ।
वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन रचनात्मक र इमानदार ढङ्गले अघि बढ्न तयार रहेको बताएका छन् । रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको रक्षा गर्न आवश्यक अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे समेत छलफल भएको उनले जानकारी दिए ।
जेलेन्स्कीका अनुसार रुसले ट्रम्पले प्रस्ताव गरेको ‘ऊर्जा युद्धविराम’ ७६ पटक उल्लङ्घन गरेको छ । जाडो सुरु हुनुअघि युक्रेनी नागरिकलाई ताप र बिजुली सेवाबाट वञ्चित गराउने उद्देश्यले रुसले आक्रमण गरिरहेको उनको आरोप छ ।
