मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण भएको केरौन सबस्टेसन सञ्चालनको चरणमा पुगेको छ। १३२ केभी क्षमताको यो सबस्टेसनले मोरङ र आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग पूरा गर्नुका साथै आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।
सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने तयारी छ। ती दुई दिन पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइन जोड्ने र निकाल्ने काम गरिनेछ। यसका लागि बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुहवी–दमक लाइन बन्द गरिनेछ। सो अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै भाग तथा मोरङको उर्लाबारी र पथरी आसपासमा विद्युत् आपूर्ति बन्द हुनेछ।
सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभिए क्षमताका दुई र ३३/११ केभीको २२.५ एमभिएको एउटा गरी तीनवटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ। स्थानीय आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन् भने केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट लाइन पनि निर्माण गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्नेछ र आपूर्ति सुरक्षित हुनेछ। हाल दुहवी–रानी–रङ्गेली ३३ केभीको करिब ५० किलोमिटर लामो लाइनबाट आपूर्ति हुँदै आएको छ, जसले गर्दा चुहावट बढी हुने र पटक–पटक लाइन जाने समस्या रहेको थियो। लाइनको लम्बाइ घटेपछि भोल्टेजमा सुधार आउने र सेवा विश्वसनीय बन्ने उनको भनाइ छ।
आयोजना प्रमुख दर्शन राय यादवका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि नयाँ ३३ केभी लाइन पनि चार्ज गरिनेछ। २०७८ असारमा ठेक्का सम्झौता भएको आयोजनाको अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको छ। यसमा नेपाल सरकार र प्राधिकरणको लगानीसँगै एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण प्रयोग गरिएको छ।
