खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ आहालेमा दसैँ मनाउन ससुराली पुगेका एक पुरुषले धारिलो हतियारले आक्रमण गर्दा श्रीमतीसहित चारजना घाइते भएका छन्। यो घटना ९ कात्तिकमा भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अञ्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई छन्। प्रहरीका अनुसार आक्रमण गर्ने ४३ वर्षीय नइन्द्रकुमार राई दसैँ मनाउन ससुराली आएका थिए। अञ्जना उनकी श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन्।
आक्रमणमा अञ्जना र तेनिनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनीहरूलाई उद्धार गरेर उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ। घटनापछि गाउँमा त्रास फैलिएको छ भने घाइतेहरूको उपचार जारी छ।
खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप विवरण र पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइने र घटनाका सबै पक्षबारे छानबिन गरिने प्रहरीले जनाएको छ। गम्भीर घाइते दुईजनाको नगर अस्पताल दुर्छिममा उपचार जारी छ।
