विश्वभर शीतकालीन उडान तालिका लागू भएसँगै संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाइदुबईले दुबई–पोखरा–दुबई रुटको उडान समय परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार पोखरा आउने र यहाँबाट फर्कने दुवै उडान करिब ५० मिनेट ढिला भएका छन्।
परिमार्जित तालिकाअनुसार दुबईबाट उड्ने जहाज अब साँझ ७ बजेर ५ मिनेटदेखि ७ बजेर १० मिनेटको बीचमा पोखरामा अवतरण गर्नेछ। त्यसैगरी, पोखराबाट यात्रु बोकेर राति ८ बजेर ५ मिनेटदेखि ८ बजेर १० मिनेटको बीचमा दुबईतर्फ प्रस्थान गर्नेछ। यसअघि उक्त उडान साँझ ६ बजेर १५ मिनेटमा पोखरा आइपुग्थ्यो र ७ बजेर १५ मिनेटमा फर्कन्थ्यो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार रातिको समयमा उडान र अवतरणका लागि आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। विमानस्थलले यात्रुहरूलाई नयाँ समयलाई ध्यानमा राखेर मात्र विमानस्थल पुग्न आग्रह गरेको छ।
गत असोज ७ गतेदेखि सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय सेवाले एक महिना पूरा गरिसकेको छ। पहिलो महिनामा ३० वटा उडानमार्फत ६ हजार ३ सय ६२ जना यात्रुले यात्रा गरेका छन्। तीमध्ये दुबईबाट पोखरा आएका ४ हजार ५ सय २१ जना र पोखराबाट दुबई गएका १ हजार ८ सय ४१ जना छन्। दसैँ र तिहारका बेला स्वदेश फर्कनेहरूको चाप उच्च रहेको विमानस्थल कार्यालयले जनाएको छ।
फ्लाइदुबईले पोखरा–दुबई रुटमा सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरिसकेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन्। फ्लाइदुबई र साझेदार कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३ सयभन्दा बढी गन्तव्यमा पुग्न सकिने भएकाले उनले गण्डकी प्रदेशका बासिन्दा तथा व्यवसायीलाई पोखराकै विमानस्थलबाट यात्रा गर्न आग्रह गरेका छन्।
