सिड्नी । अस्ट्रेलियाको सन्साइन कोस्टमा बस्ने फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्रको प्रदर्शनबाट उठेको रकम नेपालका बाढीपीडितलाई पठाएका छन्। ब्रिस्बेनमा भएको प्रदर्शनबाट संकलन भएको रकममध्ये उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन हजार अस्ट्रेलियन डलर जम्मा गरिसकेका छन्।
चलचित्र ‘चेजिङ केओस’ का निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न सहरमा भएका प्रदर्शन सफल भएको बताएका छन्। उनले आगामी दिनमा अस्ट्रेलियाका अन्य सहरसँगै विदेशमा समेत प्रदर्शन गरेर सहयोग जुटाउने काम जारी राख्ने जानकारी दिएका छन्।
उनका अनुसार चलचित्र नेपालमा छायांकन गरिएको होइन, तर त्यसको कथावस्तु नेपालको अहिलेको अवस्थासँग मिल्दोजुल्दो छ। विपद्पछि राहतको पर्खाइमा बस्नुभन्दा समुदायस्तरबाटै समयमै मानवीय सहयोग जुटाउन सके क्षति कम गर्न सकिने सन्देश चलचित्रले दिने उनको भनाइ छ।
चलचित्रमार्फत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले अभियान निरन्तर राख्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि प्रदर्शनमा नेपाली मूलका दर्शकको उपस्थिति कम भएकोमा उनले दुःख व्यक्त गरेका छन्। नेपाली समुदायका लागि नै सहयोग जुटाउन खोजिएको अभियानमा आगामी दिनमा नेपालीहरूको सहभागिता बढ्ने उनको अपेक्षा छ।
यसैबीच ‘एनसीएक्स इन्टरनेसनल’ ले उनको आगामी प्रदर्शनको संयोजन गरिरहेको छ। नोभेम्बर १०, मंगलबार साँझ ६:४५ बजे क्यानबेराको डेन्डी सिनेमामा चलचित्र देखाइनेछ। दर्शकले सिनेमाको आधिकारिक वेबसाइटबाट टिकट किन्न सक्नेछन्। संस्थाले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई चलचित्र हेरेर अभियानमा साथ दिन आग्रह गरेको छ।
