बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्थाले नेपालका चारवटा स्वास्थ्य संस्थालाई शल्यक्रियाको अभ्यास गर्न प्रयोग हुने आधुनिक उपकरण उपलब्ध गराएको छ। मंगलबार काठमाडौंको वीर अस्पतालमा आयोजित कार्यक्रममा नेप्लीज डक्टर्स एसोसिएसन युकेले रोटरी क्लब अफ काष्ठमण्डपसँगको सहकार्यमा उक्त उपकरण हस्तान्तरण गरेको हो।
उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल छन्। हस्तान्तरण कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. विवेक आचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेयाङवो सहभागी थिए। अन्य दुई संस्थाका प्रतिनिधि पनि कार्यक्रममा उपस्थित थिए।
प्रदान गरिएको उपकरण ल्याप्रोस्कोपिक इन्डोट्रेनर हो। ल्याप्रोस्कोपिक शल्यक्रियामा शरीरमा साना प्वाल बनाएर विशेष उपकरणको सहयोगमा उपचार गरिन्छ। यस्तो शल्यक्रियामा दक्ष हुन चिकित्सकलाई हातको नियन्त्रण, उपकरण चलाउने सीप र निरन्तर अभ्यास आवश्यक पर्छ। इन्डोट्रेनरले वास्तविक बिरामीको शल्यक्रियाअघि सुरक्षित र नियन्त्रित वातावरणमा अभ्यास गर्ने अवसर दिन्छ।
कार्यक्रममा सहभागी चिकित्सकहरूले यस्तो अभ्यासले चिकित्सकको व्यावहारिक दक्षता बढ्ने र बिरामीले सुरक्षित तथा गुणस्तरीय सेवा पाउन सहयोग पुग्ने बताए। नेप्लीज डक्टर्स एसोसिएसन युकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठ, महासचिव डा. पारुल श्रेष्ठ र पूर्वअध्यक्ष प्रा.डा. फौदराज थेवेसहितका चिकित्सक कार्यक्रममा सहभागी थिए। रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीसहित सरोकारवाला उपस्थित थिए। रोटरी क्लब र उक्त संस्थाबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको कार्यक्रममा जानकारी दिइयो।
