नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको हारको शृंखला रोकिन सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरालाई ३० रनले पराजित गर्यो। यो हारसँगै पोखराले प्रतियोगितामा लगातार चौथो हार बेहोरेको छ र अंकतालिकामा अंकविहीन रहँदै पुछारमा पुगेको छ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। कप्तान सिकन्दर रजाले १६ बलमा ३७ रन जोडे भने रवि बोपाराले २८ बलमा ३५ रन बनाए। अर्जुन साउदले ३१ र डेविड मलानले २८ रनको योगदान दिए। पोखराका तर्फबाट विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २-२ विकेट लिए।
१५२ रनको लक्ष्य पछ्याएको पोखराको सुरुवात नै कमजोर रह्यो। पहिलो ओभरमै कुशल भुर्तेल ४ रन बनाएर पभेलियन फर्किए। त्यसपछि युवराज साम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रन जोडे, तर साम्रा १९ रनमा आउट भएपछि पोखराले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो। सदीरा समाराविक्रमा ४ रनमा आउट हुँदा टोली ८.२ ओभरमा ६२ रनमा ३ विकेटको अवस्थामा पुगेको थियो।
अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अर्को छेउबाट पर्याप्त साथ पाएनन्। उनले ४४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए। किरण ठगुन्नाले १३ र अर्जुन घर्ती मगरले १२ रन जोडे, तर अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुमाल १७.२ ओभरमा आउट भएपछि पोखराको इनिङ्स १९ ओभरमा १२१ रनमै समेटियो। ११७ रनमा ७ विकेट गुमाएको पोखराले त्यसपछि थप ४ रन जोड्दा बाँकी ३ विकेट गुमायो।
चितवनका बलरमध्ये रिजन ढकालले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने कमलसिंह ऐरीले २ ओभरमा ७ रन दिएर ३ विकेट हात पारे। डान मौस्ली, मौसम ढकाल र कुशल मल्लले समान १-१ विकेट लिए।
दोस्रो जित निकाल्दै चितवनले ५ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
