काठमाडौँ — लामो समयदेखि वार्षिक विवरण नबुझाएका कम्पनीले अब पुस मसान्तसम्म जरिवाना छुटको सुविधा पाउने भएका छन्। सरकारले यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना बढाएको हो। खारेजीको प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई पनि यो सुविधा लागू हुनेछ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म लाग्ने कर, शुल्क र दस्तुर नियमानुसार बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ। कार्यालयकी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई तोकिएको समयभित्रै विवरण अद्यावधिक गरेर यो छुटबाट लाभ लिन आग्रह गरेकी छन्।
यसैबीच, देशमा नयाँ कम्पनी दर्ता हुने क्रम बढ्दै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा गत आर्थिक वर्ष २०८२/८३ मा २६ हजार २९१ कम्पनी दर्ता भए। अघिल्लो वर्षको तुलनामा पाँच हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन्। चालु आर्थिक वर्षको कात्तिक १२ गतेसम्म मात्रै १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन्।
रजिष्ट्रार श्रेष्ठका अनुसार विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरेर व्यवसाय थालेकाले पनि कम्पनी दर्ता बढेको हो। कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयले निजी, पब्लिक तथा मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता, प्रशासन, नियमन र खारेजीको काम गर्दै आएको छ। हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० कम्पनी खारेज भइसकेका छन्।
