अमेरिका र जापानले जापानमा संयुक्त रूपमा उन्नत क्षेप्यास्त्र उत्पादन गर्ने संयन्त्र स्थापना गर्न सहमति गरेका छन्। उक्त संयन्त्रबाट हावाबाट हावामा प्रहार गर्ने मध्यम दूरीका क्षेप्यास्त्र उत्पादन हुनेछन्। दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य बलियो बनाउने र प्रतिरक्षा क्षमता बढाउने उद्देश्यले यो कदम चालेको बताएका छन्।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि यो जानकारी दिएका हुन्। उनका अनुसार ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक पर्छ। यद्यपि, सहमतिका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै जापान–अमेरिका गठबन्धनको प्रतिरोध र प्रतिक्रिया क्षमता थप बलियो बनाउन सहमति भएको बताए। दुवै देशले अन्तर्राष्ट्रिय कानुनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा जोड दिएको उनको भनाइ छ।
अमेरिकी रक्षामन्त्री हेग्सेथले आसियानका रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न सहयोग गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धता दोहोर्याए। उनले अमेरिकाले आफ्ना सहयोगी र साझेदारको सुरक्षा तथा हितको रक्षा गर्ने बताए। अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि अमेरिका र अन्य सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुन र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने प्रयास जारी राख्ने बताए।
गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेपछि अस्ट्रेलियाले चासो व्यक्त गरेको थियो। दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानका पनि क्षेत्रगत दाबी छन् भने चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच विवादित समुद्री क्षेत्रमा तनाव उत्पन्न हुँदै आएको छ। अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ। जापान र चीनबीच पूर्वी चीन सागरका केही टापुलाई लिएर पनि विवाद छ।
