झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएका छन् भने करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले आगलागीको विवरण दिएका हुन्।
आइतबार साँझ करिब ७ः२० बजे सुरु भएको आगलागी आज बिहान करिब ६ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्लान्टमा कालोपत्रे गर्न प्रयोग गरिने लाइट डिजेल आयल भण्डारण गरिएको स्थानमा आगलागी हुँदा मौज्दात रहेको साढे नौ हजार लिटर डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट अलकत्रा लोड गरिएको को १ ख १८०० नम्बरको ट्रकमा पनि क्षति पुगेको छ। ट्रकमा मात्रै करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। आगलागीमा परी ट्रक चालक इलामको माङसेबुङ गाउँपालिका–३ का ३५ वर्षीय काफियात राई घाइते भएका छन्। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ।
प्रज्वलनशील पदार्थमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीको भनाइ छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
