गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा सोमबार अपराह्न स्कार्पियो सडकबाट खस्दा पाँच जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन्। कालीगण्डकी करिडोर सडकखण्डमा भएको उक्त दुर्घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ गइरहेको बा.अ. ०२२० नम्बरको स्कार्पियो अपराह्न करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेको थियो। गाडी भिरमा खस्दा त्यसमा सवार पाँच जनाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई तत्काल उद्धार गरी उपचारका लागि स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको नाम, थर तथा अन्य विवरण अझै खुल्न सकेको छैन। दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
