पहिरो विज्ञानसम्बन्धी विश्वकै ठूलो सम्मेलन सातौँ विश्व पहिरो फोरम यसपटक भारतमा आयोजना हुने भएको छ। भारतको फरिदावादस्थित अमृता विश्वविद्यालयको क्याम्पसमा नोभेम्बर २३ देखि २७ सम्म चल्ने फोरममा ७५ देशका एक हजार नौ सयभन्दा बढी अनुसन्धानकर्ता र वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा सात सय ६० संस्थाका सात सयभन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन् भने एक हजार दुई सय ८० भन्दा बढी विदेशी पाहुना सहभागी हुनेछन्। ‘सुरक्षित र लचिलो समुदायका लागि पहिरो विज्ञान र अभ्यास’ विषयमा हुने फोरममा पहिरोको जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, जोखिम नक्साङ्कन, भूउपग्रहमा आधारित अनुगमन र कृत्रिम बौद्धिकताको प्रयोगबारे छलफल हुनेछ।
यसअघि यो फोरम टोकियो, रोम, बेइजिङ, ल्युब्लियाना, क्योटो र फ्लोरेन्समा भइसकेको छ। भारत सम्मेलन आयोजना गर्ने पाँचौँ देश बन्न लागेको हो। मुख्य सम्मेलनअघि नोभेम्बर २२ मा पहिरो अध्ययनमा एआईको प्रयोग, भूउपग्रह अनुगमन, इनसार, डिजिटल ट्विन्स र भूस्थानिक मोडलिङसम्बन्धी कार्यशाला हुनेछन्।
हरेक वर्ष मनसुनमा पहिरोबाट ठूलो जनधनको क्षति व्यहोर्ने नेपालका लागि सम्मेलनमा प्रस्तुत हुने प्रविधि महत्वपूर्ण हुन सक्ने आयोजकको भनाइ छ। अमृता विश्वविद्यालयले सन् २००६ देखि पहिरो अनुसन्धान गर्दै आएको छ। केरलाको मुन्नारमा वायरलेस सेन्सर सञ्जाल र सिक्किममा एआईमा आधारित पूर्वसूचना प्रणाली जडान भइसकेको छ।
फोरममा नेपाली अनुसन्धानकर्ता, विद्यार्थी, इन्जिनियर र नीति निर्माता सहभागी हुन सक्नेछन्। सार्क सदस्य राष्ट्र भएकाले नेपालीलाई विशेष दर्ता शुल्क छ — नोभेम्बर १५ सम्म अर्ली बर्डमा एक सय ५० अमेरिकी डलर अर्थात् करिब १४ हजार दुई सय ५० रुपैयाँमा दर्ता गर्न सकिनेछ, त्यसपछि शुल्क दुई सय डलर पुग्नेछ र १८ प्रतिशत जीएसटी थप लाग्नेछ। दुई सय विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि छ।
