काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक सोमबार बिहानदेखि जारी छ । प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले समयसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् । आजका लागि पेसी सूची सार्वजनिक भइसकेको भए पनि न्यायाधीशहरू इजलासमा नगई बैठकमै बसेका छन् ।
अदालत प्रशासनले बैठक कम्तीमा खाजा खाने समयसम्म लम्बिन सक्ने जनाएको छ । त्यसपछि मात्रै न्यायाधीशहरू आ-आफ्नो इजलासमा फर्कने अपेक्षा छ ।
बैठकको पृष्ठभूमिमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फूयालबीचका ह्वाट्सएप सन्देश सार्वजनिक भएको प्रसङ्ग छ । सन्देश बाहिरिएपछि न्यायपालिकाको छवि र आचरणका विषयमा प्रश्न उठेका थिए । सोही सन्दर्भमा प्रधानन्यायाधीशले सबै न्यायाधीशलाई एकै ठाउँमा राखेर छलफल गर्न खोजेका हुन् ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाभियोगको प्रस्तावबारे आन्तरिक छलफल गरिसकेको छ । पार्टीले त्यसबारे निर्णय गर्ने जिम्मा आफ्नो संसदीय दललाई दिएको छ । फूलकोर्टबाट के निष्कर्ष निस्कन्छ भन्नेमा अहिले सबैको ध्यान केन्द्रित छ ।
