नेपाल प्रिमियर लिग (एनपीएल) छोटो समयमै नेपाली क्रिकेटको सबैभन्दा ठूलो व्यावसायिक मञ्च बनेको छ। पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले कूल २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो भने दोस्रो संस्करणमा त्यो रकम बढेर ४७ करोड ३६ लाख रुपैयाँ पुग्यो। तेस्रो संस्करण सुरु हुनुअघि नै प्रसारण अधिकारबाट मात्र ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी भइसकेको छ।
पहिलो संस्करणमा युट्युब र टेलिभिजन प्रसारण अधिकार एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा लिएको थियो र दर्शकले खेल निःशुल्क हेर्न पाएका थिए। दोस्रो संस्करणदेखि शुल्कसहितको प्रसारण सुरु भयो। त्यसबेला ओटीटी अधिकार डिसहोमले र टेलिभिजन अधिकार कान्तिपुर टेलिभिजनले ३ करोड रुपैयाँमा लिएका थिए। तेस्रो संस्करणमा टेलिभिजन अधिकार करबाहेक १४ करोड ६४ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो संस्करणको तुलनामा करिब पाँच गुणा बढी हो।
फ्रेन्चाइज टोलीले पाउने रकममा पनि ठूलो वृद्धि भएको छ। पहिलो संस्करणमा आठ टोलीले कूल ३ करोड १६ लाख रुपैयाँ पाएका थिए भने दोस्रो संस्करणमा त्यो १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ पुग्यो। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारीका अनुसार तेस्रो संस्करणसम्म आइपुग्दा प्रायोजकको संख्या तीनदेखि चार गुणाले बढेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति पाएपछि यसपटक डेविड वार्नर र आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडी मैदानमा उत्रिनेछन्। यसअघि एक सिजनमा चार टोलीले मात्र सक्रिय टेस्ट खेलाडी भित्र्याउन पाउँथे, तर अब त्यो सीमा हटेको छ। तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) पनि पहिलोपटक प्रयोग हुँदैछ। विजेता टोलीले यसपटक एक करोड ५० लाख, दोस्रोले ८० लाख, तेस्रोले ४० लाख र चौथोले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। टी–२० मान्यता पाएसँगै एनपीएलमा बन्ने रेकर्डहरू अब आधिकारिक रेकर्डका रूपमा गणना हुनेछन्।
