दाङको घोराहीदेखि तुलसीपुरसम्मको चार लेन सडकमा लामो अन्योलपछि कामले गति लिएको छ। पाँच वर्षसम्म अलपत्र परेको यो सडकमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढिरहेको छ र तिहार सकिएलगत्तै ग्राबेल हाल्ने तयारी भएको छ।
निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका प्राविधिक सुनिल ढुङ्गानाका अनुसार अहिले पर्खाल र नाली निर्माण अन्तिम चरणमा छ। करिब १८ किलोमिटर पर्खाल बनिसकेको छ भने नालीको काम पनि सकिन लागेको छ। संरचनाको काम तिहारभित्रै पूरा गरेर त्यसपछि ग्राबेल सुरु गरिने उनको भनाइ छ। अहिलेसम्म सडकमा १६ प्रतिशत भौतिक र १५ प्रतिशत आर्थिक प्रगति भएको छ भने करिब ४० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले काम नरोकिएको बताएका छन्। दशैँमा घर गएका मजदुर फर्कन थालेका र एक–दुई दिनभित्रै काम पूर्ण रूपमा सुरु हुने उनले जानकारी दिए। लामो समय काम नहुँदा स्थानीयमा गुनासो थियो र काम रोकिँदा शङ्का उत्पन्न हुने गरेको थियो।
घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर लामो यो सडक ३० मिटर चौडा हुनेछ। बीचमा मेडिएन र दुवैतर्फ दुई–दुई लेन रहनेछन् भने बजार क्षेत्रमा फुटपाथसहितको चार लेन बन्नेछ। सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाले ठेक्का गरेको यो कामको अनुगमन सडक डिभिजन कार्यालय दाङले गरिरहेको छ।
२०८२ असार २४ मा भ्याटबाहेक दुई अर्ब २४ करोड ५६ लाख रुपैयाँमा सम्झौता भएको यो सडक ३६ महिनाभित्र, अर्थात् २०८५ असारभित्र सम्पन्न गर्नुपर्नेछ। यसअघिको कम्पनीले काम नगरेपछि ठेक्का रद्द भएको थियो र २०८१ साउनदेखि नयाँ प्रक्रिया अघि बढाइएको थियो। सडकमा पर्ने सेवार, हापुर, ग्वारखोला र कालाखोलामा चार लेन पुल बनाउने प्रक्रिया पनि अघि बढिसकेको छ।
