दसैँ पर्वको समयमा देशभर भएका सडक दुर्घटनामा एक सय २४ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म एक हजार तीन सय ३९ दुर्घटना भएका हुन्। ती घटनामा दुई हजार नौ सय ८८ जना घाइते भएका छन्। घाइतेमध्ये चार सय ३७ जनाको अवस्था गम्भीर छ भने दुई हजार पाँच सय ५१ जना सामान्य घाइते भएका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै दुर्घटना कोशीमा भएका छन्, जहाँ तीन सय ९७ घटना दर्ता भए। काठमाडौँ उपत्यकामा एक सय ७१ र कर्णालीमा पनि एक सय ७१ दुर्घटना भए। लुम्बिनीमा एक सय ६१, सुदूरपश्चिममा एक सय ५०, बागमतीमा एक सय १२, गण्डकीमा ९७ र मधेशमा ८० दुर्घटना भएका छन्।
दुर्घटनामा परेका सवारीसाधनमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा धेरै छ। एक हजार पाँच सय ५२ मोटरसाइकल दुर्घटनामा परेका छन् भने तीन सय ३७ जिप तथा कार, दुई सय सात टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर र १० डोजर तथा लोडर दुर्घटनामा परेका छन्। गत वर्ष दसैँ अवधिमा एक हजार चार सय ९२ दुर्घटना भएका थिए।
चाडपर्वको अवधिमा ट्राफिक नियम मिच्ने पाँच हजार सात सय तीन चालकमाथि कारबाही गरिएको छ। मादकपदार्थ सेवन गरेर सवारी चलाउने दुई हजार सात सय ९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार आठ सय ८२ र तीव्र गतिमा सवारी चलाउने सात सय ४६ चालक कारबाहीमा परेका छन्। देशभर चार सय आठ सहायता कक्ष र सीमा नाकाका एक सय आठ स्थानमा हेल्प डेस्क राखिएको थियो। दीपावली तथा छठलाई लक्षित गरी विशेष योजना अघि बढाइएको प्रहरीले जनाएको छ।
