उत्तरी फिलिपिन्समा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ। वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो।
वायुसेनाका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो तीन बजेर ५१ मिनेटमा बाताङ्गास प्रान्तको लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए। दुर्घटनामा परेका दुवै विमान एसएफ–२६० मोडलका थिए, जसलाई फिलिपिन्स वायुसेनाले पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ।
दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ। एसएफ–२६० हल्का विमान हो र पाइलट प्रशिक्षणमा यसको व्यापक प्रयोग हुन्छ।
यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एउटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो। पछिल्ला केही महिनामै सोही मोडलका विमानमा दोहोरिएको दुर्घटनाले प्रशिक्षण उडानको सुरक्षामाथि प्रश्न उठाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वायुसेनाले जनाएको छ।
