काठमाडौं — इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी हवाई प्रतिरक्षा प्रणालीअन्तर्गतको एक युनिटले उक्त ड्रोनलाई निशाना बनाएर नष्ट गरेको हो।
तर घटना कहिले भएको र उक्त ड्रोन कुन उद्देश्यले त्यहाँ पुगेको थियो भन्नेबारे आधिकारिक विवरणमा केही खुलाइएको छैन। इरानी सेनासँग निकट रहेको दीफा समाचार एजेन्सीले पनि बन्दर अब्बासको आकाशमा ड्रोनमाथि प्रहार गरिएको दाबी गरेको छ।
यसैबीच इरानको मेहर समाचार एजेन्सीले सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै अक्टोबर २५ को बिहान जास्क क्षेत्रमा एउटा लुकास ड्रोन खसालिएको जनाएको छ। बन्दर अब्बास र जास्क दुवै इरानको होर्मुजगान प्रान्तमा पर्छन्।
अमेरिकी सेन्ट्रल कमान्डले डिसेम्बर २०२५ मा मध्यपूर्वमा अमेरिकी सेनाको पहिलो एकतर्फी आक्रमण गर्ने ड्रोनको स्क्वाड्रन गठन गरेको घोषणा गरेको थियो। उक्त स्क्वाड्रन लुकास ड्रोनहरूले सुसज्जित छ।
समाचार संस्था रोयटर्सका अनुसार लुकास ड्रोन इरानकै साहेद ड्रोनकै शैलीमा तयार पारिएको हो। एउटा युनिटको लागत करिब ३५ हजार अमेरिकी डलर पर्ने बताइएको छ।
