२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ । नेपाली सेनाले सोमबार पुलको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेसँगै आवागमन सुरु भएको हो ।
२७.४३ मिटर लामो उक्त पुलको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण गरिएको पुलबाट हाल पैदलयात्री र मोटरसाइकललाई आवतजावत खुला गरिएको छ । ठूला सवारीसाधन भने अझै सञ्चालनमा आइसकेका छैनन् ।
गत असोज २५ गते बिहानपख बूढीगण्डकीमा आएको आकस्मिक बाढीले आरुघाटको पक्की पुल बगाएको थियो । त्यसयता नदी वारपार गर्न स्थानीयवासीले ठूलो सास्ती भोगिरहेका थिए ।
पुल बगाएको ९ दिनपछि असोज ३१ गतेदेखि बेलीब्रिजको निर्माण सुरु भएको थियो । छोटो अवधिमै निर्माण सम्पन्न भएसँगै बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ ।
