अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीको अदालतले नेपाली मूलकी ममता काफ्ले भट्टको हत्यामा उनका पति नरेश भट्टलाई दोषी ठहर गरेको छ। मंगलबार भएको सुनुवाइमा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी करार गरेको हो।
जुरीले करिब पाँच घण्टा छलफल गरेपछि स्थानीय समयअनुसार साँझ ५ बजे फैसला सुनाएको थियो। फैसलासँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ। उनको सजाय सन् २०२७ को मार्चमा निर्धारण हुने तय भएको छ।
फैसलापछि कमनवेल्थकी अभियोजनकर्ता एमी एशवर्थले ममताको जीवन अन्त्य गर्ने नरेशविरुद्धको फैसलाले न्यायको महत्त्वपूर्ण पक्ष पूरा गरेको बताइन्। ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उनले उल्लेख गरिन्।
सुनुवाइमा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ डा. अबिगेल केर्न्स र नरेशका पूर्वरूममेट आकाश रचलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो। केर्न्सले ममताले आत्महत्या गर्न प्रयोग गरेको भनिएको सेल्फोस नामक कृषि विषादीमा हुने एल्युमिनियम फस्फाइडले शरीरमा फस्फिन ग्यास उत्पादन गर्ने र गम्भीर अवस्थामा केही घण्टाभित्रै ज्यान जान सक्ने बयान दिएकी थिइन्। रचले सन् २०२१ मा विवादका क्रममा नरेशले बन्दुक निकालेर आफू र आफ्नी पत्नीलाई धम्क्याएको बताए।
ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र सन् २०२३ को डिसेम्बरमा उनको अनुहारमा चोट देखेको बयान दिएकी थिइन्। अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो। प्रतिरक्षा पक्षले भने अभियोजन पक्षले आरोप पुष्टि गर्न नसकेको दाबी गर्दै नरेशले ममताले आत्महत्या गरेको भन्ने बयान सत्य भएको जिकिर गरेको थियो।
ममता सन् २०२४ मा बेपत्ता भएपछि उनको खोजी र घटनाको अनुसन्धान सुरु भएको थियो।
