लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्षको नियुक्तिविरुद्ध आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले गएराति बुटवलको लुम्बिनी पर्साचोकस्थित घरबाट सुतिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का ३३ वर्षीय वाविउद्दिन मुसलमान छन्। अभियानले शान्तिपूर्ण रूपमा माग राखेर आन्दोलन गरिरहेका बेला मध्यरातमा धरपकड भएको भन्दै दुवै जनाको नि:शर्त रिहाइको माग गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जनाएको छ।
महाअभियानले आनी छोइङ डोल्माको नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई कोषमा नियुक्त गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ। आन्दोलन अन्तर्गत सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा पर्यटनमन्त्रीको पुत्ला दहनसमेत गरिएको थियो।
आनीले आवेदन नै नदिई नियुक्ति पाएको भन्दै महाअभियानसँगै कपिलवस्तु तिलौराकोट संघर्ष समिति, लुम्बिनीवासी प्रदेश सांसद र अन्य समूहले विरोध गर्दै आएका छन्। उनीहरूले आनीमाथि वंशजको नागरिकता प्राप्ति र हङकङबाट प्राप्त भएको भनिएको रकमको वैधता तथा पारदर्शितामाथि पनि प्रश्न उठाएका छन्। निष्पक्ष छानबिनमा निर्दोष सावित भए मात्र नियुक्ति स्वीकार्य हुने उनीहरूको अडान छ।
