हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउको उत्पादन बढेको छ। कृषि तथा पशु विकास कार्यालयको प्रारम्भिक अनुमानअनुसार जिल्लाभर उत्पादन भएको स्याउको मूल्य एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ। जिल्लाका पाँच स्थानीय तहमा फैलिएको ६६२ हेक्टर क्षेत्रमा यो स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार उच्च घनत्व प्रविधिबाट उत्पादन भएको स्याउको मूल्य २३ करोड ६ लाख रुपैयाँ रहेको छ भने परम्परागत स्थानीय जातको स्याउको मूल्य ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ। दुवै जात गरी यस वर्ष सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमा उच्च घनत्व प्रविधिको स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन रहेको छ।
उत्पादनको अनुमानका लागि प्राविधिकहरू बगैँचामै पुगेर क्रप कटिङ विधिबाट औसत उत्पादन मापन गरिएको थियो। स्थानीय तहका कृषि प्राविधिक र स्याउ किसानसँगको समन्वयमा विवरण संकलन गरिएको प्रमुख अर्यालले बताए। उत्पादनमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर पठाइने भएको छ भने १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत हुनेछ।
यस वर्ष उच्च घनत्व प्रविधिको स्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँ र स्थानीय स्याउको मूल्य प्रतिकेजी १५१ रुपैयाँ तोकिएको छ। गत वर्ष जिल्लामा छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। त्यसको तुलनामा यस वर्ष ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् पाँच दशमलव २९ प्रतिशतले उत्पादन बढेको छ। जिल्लामा अहिले ९१७ हेक्टरमा स्याउ बगैँचा विस्तार भएको छ, जसमध्ये ७६ हेक्टरमा उच्च घनत्व प्रविधिको र ८४१ हेक्टरमा परम्परागत जातको स्याउ लगाइएको छ।
